भव्य सम्पन्न गर्यो ताङतिङ समाज युकेले २०२५ सालको बार्षिक भेटघाट कार्यक्रम

ब्र्याकनेल, लन्डन ।

बर्कसायर स्थित ब्र्याकनेलको विन्कफिल्ड पेरिस काउन्सिलको हलमा मिति जुलाई १९ तारिख २०२५ साल शनिबार ताङतिङ समाज युकेले २०२५ सालको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम भव्य सम्पन्न गरेको छ ।

समाजको सिनियर (बयोबृद्ध) सदस्य मेजर बालासिंह गुरुङ MVO तथा अध्यक्ष तर्कजङ गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गर्नुभई औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो । लगत्तै उपाध्यक्ष श्री जगदीश गुरुङले उपस्थित सबैलाई समाजको तर्फबाट औपचारिक रुपमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपालबाट युके घुम्न आउनुभएका गाउँलेहरुलाई भव्य स्वागत गरेको थियो जस अन्तर्गत कास्की मादी गाउँ पालिका वडा नं २का संस्थापक वडा अध्यक्ष श्री एकाजङ गुरुङज्युको श्रीमान श्रीमती तथा ताङतिङ दुधपोखरी समाज पोखराको उपाध्यक्ष सुबेदार श्री मन्त्री जङ गुरुङज्युको श्रीमान श्रीमती लगायत अन्य अतिथिज्युहरुलाई भव्य स्वागत गरेको थियो ।

कार्यक्रममा तमु धिं युकेका अध्यक्ष श्री जुमकाजी गुरुङ तथा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन श्री डेम बहादुर गुरुङलाई फेटा तथा खाता ओढाइ बधाई तथा शुभकामना दिएको थियो । त्यस्तै कार्यक्रममा नेपाल भुतपुर्ब सैनिक संघ नेपालको अध्यक्ष श्री गर्ज बहादुर गुरुङलाई पनि समाजको तर्पmबाट बधाई तथा शुभकामना दिएको थियो । यसै शिलशिलामा अध्यक्ष गर्ज बहादुर गुरुङले ताङतिङ राजनितीक हिसाबले अत्यन्तै सचेत भएको गुरुङ गाउँ हो भन्नुहुँदै यसै गाउँका अग्रज द्धय– भुपु राष्ट्रिय पंचायत सदस्य स्वर्गीया नन्द जङ गुरुङ तथा नेपाल भुतपुर्ब सैनिक संघको भुपु अध्यक्ष स्वर्गीया मेजर दीपक गुरुङलाई सम्झिनु हुँदै श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तमु कल्चरल फोरम युकेका डाइरेक्टर क्याप्टेन श्री राजु गुरुङले तमु संस्कार संस्कृतिको महत्वबारे प्रकाश पार्नु हुँदै त्रिभाषिया किताब प्रकाशन गर्न लागेको कुरा बताउनुभयो । उहाँले किताब प्रकाशनको लागि सहयोग गर्नुभएकोमा ताङतिङ समाज युकेलाई धन्यबाद दिनुभयो । त्यस्तै कार्यक्रममा कास्की मादी गाउँ पालिका वडा नं २का संस्थापक वडा अध्यक्ष श्री एकाजङ गुरुङले आफ्नो कार्यकालमा र अन्य आबश्यक परेको बेलामा ताङतिङ समाज युकेको निरन्तर सहयोगको प्रशंसा गर्नुहुँदै धन्यबाद दिनुभएको थियो । साथसाथै उहाँले समाजको बार्षिक भेटघाट कार्यक्रमको शुभ अबसरमा सम्पुर्ण परिवारजन, इष्टमित्रहरु र युकेका गाउँलेहरु भेटन पाउँदा खुशी ब्यक्त गर्नुभयो ।

सधै जस्तो चेलिबेटीहरु र अतिथिहरुलाई भव्य स्वागत अनि सम्मान गर्दै समाजले २०२४–२५ सालमा पदोन्नती, ग्रडयुएट गरेका, नयाँ सन्तान प्राप्त गर्नुभएका, नयाँ घर किन्नुभएका सदस्यहरुको खुशीयाली मनाउँदै बधाई तथा शुभकामना दिए । समाजको म्यारोथन धावक सदस्य द्धय– आसबहादुर गुरुङले अन्नपुर्ण म्याराथन दौडीनुभएकोमा र श्री कुश बहादुर गुरुङले पोखरा म्याराथन दौडीनुभएकोमा बधाई दिएको थियो । कार्यक्रममा ताङतिङकै कलाकार द्धय– सबिना गुरुङ तथा एलिना गुरुङले चर्चित गुरुङ तथा नेपाली गीतहरु गाएर भरमुग्धर मनोरन्जन गराएको थियो । साथसाथै सानी नानी यास्भी गुरुङ, सबिना गुरुङ, बिष्णु गुरुङ द्वय, पदम गुरुङ नेपालबाट आउनुभएको चर्चित कलाकार मन्त्री जङ गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा चिट्ठा पनि गरेको थियो र सदस्यहरुले पुरुस्कार सहयोग स्वरुप प्रायोजन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री तर्क जङ गुरुङले समाजको २०२५ सालको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम भव्य र सभ्य बनाउन प्रतक्ष्य परोक्ष सहयोग गर्नुहुने कार्यसमिति, सल्लाहकारज्युहरु, प्रायोजकज्युहरु, चेलिबेटीज्युहरु र सदस्यहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रम समाजको महासचिब टौ गुरुङले संचालन गर्नुभएको थियो भने श्रीमती मनु गुरुङ र हित मान गुरुङले फोटोग्राफी तथा भिडीयोग्राफी गरेको थियो ।

कार्यक्रम स्थलमा समाजको संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ MBE ज्युको परिकल्पनामा उहाँले नै बनाउनुभएको ताङतिङको स्थानिय ठाउँहरु चिनाउने वा स्थानिय ठाउँहरुको नाम टेबल टेबलमा राखेर उपस्थित सबैलाई जानकारी गराएको थियो ।