
गण्डकी प्रदेशको पुर्ब मन्त्रीलाई ताङतिङ समाज युकेले भव्य स्वागत
साफ्रोन वाल्डन, इसेक्स, क्याम्ब्रिज । हाल परिवारिक भ्रमणका लागि युके आउनुभएका गण्डकी प्रदेशको पुर्ब कृषि, उर्जा तथा जलस्रोत मन्त्री ताङतिङ गाउँको सान भुमीपुत्र माननीय बेद बहादुर गुरुङ (श्याम)लाई आफ्नै गाउँले समाजले गत मिति अगष्ट २७ तारिख २०२५ साल बुधबार साँझ ताङतिङकेहरुको बाक्लो बस्ती रहेको इसेक्स साफ्रोन वाल्डन स्थित प्रसिद्ध एवार्ड विनीङ (पुरस्कृत) द मुगल रेष्टुरन्टमा भव्य स्वागत गरेको छ । स्वागत तथा भेटघाट कार्यक्रममा माननीय बेद बहादुर गुरुङ (श्याम) लगायत हाल बेलायत भ्रमणमा आउनुभएका अन्य गाउँलेहरुलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा हाल बेलायतमा भ्रमणमा रहनुभएका मादी गाउँपालिका वडा नं २ ताङतिङको संस्थापक वडा अध्यक्ष एकाजङ गुरुङज्यु, ताङतिङ समाज युकेको पुर्ब महासचिब श्री दुर्गा गुरुङज्युको श्रीमान श्रीमती, ताङतिङ श्री हिमालय मिलन मा.बि.को पुर्ब शिक्षक तथा पैंडी श्री जस बहादुर गुरुङज्यु, ताङतिङ समाज काठमाडौंको सकृय सदस्य पर्यटन व्यवसायी श्री कुमानसिंह (गणेश) गुरुङज्युको श्रीमान श्रीमती, नायिका तथा गायिका श्रीमती सबिना गुरुङज्यु, प्रथम नेपाल स्टार बिजेता गायिका एलिना गुरुङलाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा पुर्ब मन्त्री माननीय बेद बहादुर गुरुङज्युले यसरी गाउँलेहरुसंग भेटन पाउँदा अत्यन्तै खुशी लागेको र युकेबासी गाउँलेहरुको साथ र सहयोगको लागि हार्दिक धन्यबाद दिनुभयो । त्यस्तै, ताङतिङ समाज युकेका अध्यक्ष श्री तर्क जंग गुरुङले माननीय बेद बहादुर गुरुङ लगायत युके घुम्न आउनुभएका अन्य गाउँलेहरुलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै बिशेष गरेर माननीय बेद बहादुर गुरुङज्यको राजनीतिक तथा वयक्तिक जीवनको उत्तोरत्तर प्रगतीको कामना गर्नुभयो ।
उपस्थित पाहुनाहरुलाई समाजको संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीई ज्युले औपचारिक स्वागत गर्नुभएको थियो भने अध्यक्ष स्वयं तर्क जंग गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा ताङतिङ समाज युकेको भुपु अध्यक्ष तथा बीजीनेसा युकेको अध्यक्ष श्री केश बहादुर गुरुङ तथा निबर्तमान अध्यक्ष भुपु उपमेयर काउन्सिलर श्री लक्ष्य गुरुङ लगायत साफ्रोन वाल्डन वरपरका गाउँलेहरु र अन्य गाउँलेहरुको बाक्लो उपस्थिति रहेको थियो ।




