
ताङतिङ समाज युकेको आमा समुहद्धारा अनलाइन मिटीङ प्रणाली जडानको लागि आर्थिक सहयोग प्रदान
केश ब. गुरुङ, अध्यक्ष– ब्रिटिश गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ युके ।
पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित ताङतिङ दुधपोखरी तमु समाजको समाज घरमा (हलमा) अन्तराष्ट्रिय रुपमा बैठक गर्न मिल्ने गरी अत्यधुनिक अनलाइन अडियो तथा भिडियो प्रणाली जडान गरिएको छ । यस प्रणाली जडानको लागि ताङतिङ समाज युकेका आमा समुहद्धारा रु.२,३२,००/– (दुई लाख बत्तीस हजार रुपियाँ) र यसै समाजको सल्लाहकार म्याराथन धावक श्री कुश ब. गुरुङले नेपाल रन मार्फत रु.२,००,००/– (दुई लाख रुपियाँ) गरी जम्मा रु.४,३२,००/– (चार लाख बत्तीह हजार रुपियाँ) आर्थिक सहयोग प्रदान गरिएको छ ।
अब यो प्रणालीबाट बेलायत, अमेरिका, हङकङ, क्यानेडा, जापन, अष्ट्रेलिया लगायत बिदेशमा बस्नुहुने ताङतिङकेहरु र पोखरा, काठमाडौं, ताङतिङ स्वदेशमै विभिन्न स्थानमा बसोबास गरिहनुभएका ताङतिङकेहरुले एकैसाथ बैठक गर्न सकिनेछ । त्यस्तै शारीरिक रुपमा असक्षम हुने सदस्यहरुले पनि घरबाटै यस प्रणालीमा जोडीनुभई बैठक तथा अन्य अनलाईन कार्यक्रमहरुमा प्रतक्ष्य सहभागी हुनसक्नेछन् । सदस्यहरुले प्रतक्ष्य जोडीनुभई बैठकहरुमा अ–आफ्नो राय सल्लाह सुझाब राख्न सकिनेछन् ।
यो प्रविधिबाट जुम, माइक्रोसफ्ट टिम र अनलाइन मिट जस्ता अनलाईन बैठकहरु संचालन गर्न सकिनेछन् । अनलाइन र श–शरीर हलमा प्रतक्ष्य उपस्थित भई मिश्रित (हाइब्रिड) खालको बैठकहरू पनि सञ्चालन गर्न सकिनेछन् । यस खालको हाइब्रिड बैठक गर्दा स्वदेशबाट तथा बिदेशबाट जोडीनुहुने सदस्यहरुले एक अर्कालार्ई देख्न र सुन्न सकिनेछ ।
यो प्रबिधि जडानको लागि धेरै पहिला देखि कोशिस गरे ता पनि गत बर्ष २०८२ सालको चैत्रमा उपकरणहरु जडान गर्न सफल भएको थियो । जडान गरेर परिक्षण गरेपछि गत मिति २०८३ साल बैशाख ३ गते ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्ष सुबेदार मेजर श्री बिरधोज गुरुङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकबाट सुरु भएको थियो । उक्त बैठकमा बेलायतबाट ब्रिटिस गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ (बिजीनेसा) युकेको अध्यक्ष श्री केशबहादुर गुरुङ, ताङतिङ पंगीलामा युकेको अध्यक्ष क्याप्टेन श्री गौबहादुर गुरुङ र ताङतिङ समाज युकेको आमा समूहको प्रतिनिधित्व गर्दै श्रीमती तोलामाया गुरुङ जुम मार्फत प्रत्यक्ष जोडिनुभएको थियो । ताङतिङ समाज युकेको सल्लाहकार हाल युएन मध्य अफ्रिकामा कार्यरत वरिष्ठ प्रशासकीय अधिकृत श्री जीत गुरुङले युके आमा समुह तर्फबाट रु.२,३२,००/– (दुई लाख बत्तीस हजार रुपियाँ) हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले उक्त प्रणालीको समुद्घाटन गर्नुभएको थियो । उहाँ जीत गुरुङले पनि गत बर्ष कार्यलय प्रयोग र यस्तै अनलाइन मिटिङको लागि समाजलाई एउटा ल्यापटप सहयोग गर्नुभएको थियो ।

यो प्रोजेक्ट अर्थात् परियोजनाको जडानको लागि ताङतिङ समाज युकेका आमा समुहले अ–आफ्नो छोराछोरीको परम्परागत सम्पन्न शुभ–विवाह र अन्य शुभ कार्यहरुमा दान अर्थात चन्दा संकलन गरेको थियो भने यसै समाजको सल्लाहकार म्याराथन धावक श्री कुश बहादुर गुरुङले नेपाल रनसंग मिलेर म्याराथन दौडीे रु.२,००,००/– (दुई लाख रुपियाँ) आर्थिक सहयोग संकलन गर्नुभएको थियो । त्यस्तै ताङतिङ दुधपोखरी तमु समाज स्वयंले पनि यस प्रविधिको लागि आवश्यक ठुलो स्क्रिन फिट गर्न फलामको फ्रेम प्रायोजन गरेको थियो ।
यस किसिमको आधुनिक प्रणाली श्री हिमालयन कम्प्युटर न्युरोड पोखराले जडान गरिदिएको थियो । यस्तो प्रणाली हाल पोखरामा पोखरा विश्वबिद्यालयमा मात्र रहेकोे र ताङतिङ दुधपोखरी तमु समाज दोस्रो भएको कुरा यस हिमालयन कम्प्युटरका प्राविधिक अर्जुन गुरुङले जानकारी गराउनुभयो । उनका अनुसार यस किसिमको प्रविधि जोड्ने समाजहरुमा ताङतिङ दुधपोखरी तमु समाज पहिलो समाज भएको कुरा बताउनुभयो । अब यस प्रबिधिबाट समाज घरमा अनलाइन कक्षा, सामुहिक अनलाइन बैठक र परियोजनाहरु अनलाइनमा प्रतक्ष्य प्रस्तुत गर्न सकिनेछ । सरकारी, गैर सरकारी संघसंस्था, समाज अनि विद्यालयहरुले पनि यस प्रणालीलाई उपयोग गर्न सकिन्छ जसबाट समाजलाई आर्थिक सहयोग पनि हुनसक्नेछन् ।
ब्रिटिस गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ (बिजीनेसा) युकेको अध्यक्ष श्री केशबहादुर गुरुङको सोच र परिकल्पनामा यस किसिमको प्रणाली जडान गरिएको हो । यसको लागि ताङतिङ समाज युकेको अध्यक्ष श्री तर्क जंग गुरुङ, आमा समुहका सदस्यहरु– कमला गुरुङ, पदममाया गुरुङ, माया गुरुङ, मनकासी गुरुङ र धनमाया गुरुङ लगायत सम्पूर्ण आमा समुहले धेरै सहयोग गरेका थिए । त्यस्तै पोखरामा यो प्रोजेक्ट सफल तुल्याउन ताङतिङ दूधपोखरी समाजका सक्रिय महासचिव क्याप्टेन श्री मन्त्रीजङ गुरुङ, अध्यक्ष सुबेदार मेजर वीरधोज गुरुङ, सहसचिव पमबहादुर गुरुङ, कोषाध्यक्ष श्री डम्मर जंग गुरुङ र सम्पूर्ण कार्यसमितिले ठुलो योगदान वा सहयोग गरेको थियो ।
अब यस प्रणालीबाट अनलाइन वा हाइब्रिड बैठकहरु गर्दा स्वदेश तथा बिदेशमा हुनुहुने ताङतिङकेहरुको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने, इन्टरनेट मार्फत ताङतिङकेहरुले संसारको जुनै पनि ठाउँबाट जोडीनुभई एक आपसमा भलाकुसारी गर्न सकिनेछ । साथै बैठकमा अ-आफ्नो राय सल्लाह सुझाव प्रस्तुत गर्न पनि अवसर मिल्नेछ । यसलाई प्रचारप्रसार गरी सामाजिक तथा गैर सरकारी संस्थाहरूको बीचमा प्रयोगमा ल्याउन सके समाजलाई आर्थिक सहयोग (आम्दनी) पनि हुन सक्ने कुरा परिकल्पनाकार केश ब. गुरुङ बताउनुहुन्छ ।





