हिरोदेखि मन्त्रीसम्म : गण्डकी प्रदेशको नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम”

कास्की जिल्ला मादी गाउँ पालिका वडा न २ ताङतिङ गाउँ घर भई हाल पोखरा चिसापानी निवासी गण्डकी प्रदेशको नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम” हिरोदेखी मन्त्रीसम्मा बन्न सफल भएका छन । मादी गाउँ पालिकाको संस्थापक अध्यक्ष माननिय मन्त्री बेद ब गुरुङ “श्याम”को राजनितिक र कलाकारिताको जीवन ज्यादै रोचक र प्रेरणादायी छ । युवास्थादेखी कलाकारिता र राजनितिक जीवन सँगसंगै अगाडी बढाएका गुरुङ पछील्लो समय बढी राजनितिक क्षेत्रमा ब्यस्त देखिन्छन ।

२०४५ सालमा बिद्यार्थी आन्दोलनबाट कम्युनिष्ट राजनितीमा आकर्षित भएका गुरुङ हिजो मिति २०७९ साल माघ १० गते मंगलबार गण्डकी प्रदेशको कृषि, उर्जा तथा जलस्रोत मन्त्री नियुक्त हुनुभएको छ ।

यस्तो रहेको छ- नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद ब गुरुङ “श्याम”को राजनीतिक यात्रा

१० माघ, पोखरा । २०७४ सालमा एमाले–माओवादी मिलेर चुनाव लड्दा मादी गाउँपालिकाको अध्यक्ष चुनिएका वेदबहादुर गुरुङले यसपटक प्रदेश सभाको टिकट हात पार्दा धेरैले भनेका थिए, ‘गाह्रो छ ।’ नेपाली कांग्रेस, नेकपा माओवादीसहित ५ दलीय गठबन्धनबाट गगन थापा निकटका दीपक गुरुङ उम्मेदवार थिए ।

पर्दाहरुमा हिट भएका गुरुङ फिल्मका नायक वेदबहादुर गुरुङ ‘श्याम’ जनताका बीच पनि लोकप्रिय नै थिए र उनलाई जिताइदिए । कांग्रेसका दीपक ‘माइला’ लाई ९६७ मतले हराउँदै वेदबहादुर कास्की–१ (२) बाट निर्वाचित भए । मादी गाउँपालिकाको अध्यक्ष भएर काम गरेपछि उनले पनि खगराज अधिकारीसँगै प्रदेशको टिकट पाएका थिए । खगराज मुख्यमन्त्री हुने अभिप्रायले प्रदेश झर्दा अघिल्लो निर्वाचनमा कास्की–१ (२) बाट जितेका मनबहादुर गुरुङले संघको टिकट पाएर र वेदबहादुरले प्रदेशको टिकट पाएका थिए ।

सांसद जिते सकेपछि पनि कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन कायमै भएकाले एमाले प्रतिपक्षमा बस्ने भएकाले वेदबहादुर मन्त्री हुने सोचेकै थिएनन् । एकाएक सत्ता समीकरण परिवर्तन भएर खगराज अधिकारी मुख्यमन्त्री हुने भएपछि र भइसकेपछि पनि आकांक्षी धेरै हुँदा वेदबहादुरले मन्त्री पाउने आशा गरेकै थिएनन् ।

मन्त्री नियुक्ती हुनुभए लगत्तै परिवारको साथ बधाई ग्रहण पछि

खगराज र वेदबहादुर कास्की–१ कै भएकाले एउटै क्षेत्रबाट दुईजना मन्त्री नहुने धेरैले बताएका थिए भने अर्कोतर्फ एमालेबाटै धेरै जना केन्द्रीय सदस्यसमेत रहेका सांसदहरु नै कसरतमा थिए । त्यसैमाथि खगराजले मन्त्रालयको संख्या १२ बाट घटाएर ७ मा झारेका थिए । कास्कीबाट एक जना मन्त्री बनाउन अन्तिममा वेदबहादुर र गणेशमान गुरुङको नाम थियो । गणेशमान अशोक राईहरुसँगै एमालेबाट अलग्गिएर जनता समाजवादी पार्टीका गण्डकी इन्चार्ज भएर स्थानीय तहको चुनावअघि फेरि एमालेमै फर्किएका थिए । गणेशमानले नै मन्त्री पाउने अनुमानलाई गलत सावित गर्दै खगराजले एउटै क्षेत्रका वेदबहादुरलाई रोजेका छन् । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्रतिष्ठाको लडाईं चल्दा पनि वेदबहादुर अधिकारीकै साथमा थिए ।

वेदबहादुरलाई मन्त्री बनाउँदा सहज पनि हुने भएपछि खगराजले मन्त्रीको नाम टुंगो लगाए । पोलिटब्युरो सदस्य लिलबहादुर थापा, केन्द्रीय नेतृ पद्मा जिसी, केन्द्रीय सदस्य गोविन्द नेपाली लगायतले मन्त्री हुन कसरत गरिरहँदा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य वेदबहादुरले उछिनेका छन् ।

राजनीति र कलाकारिता पनि सँगै गरेका वेदबहादुर गुरुङ फिल्म लेखन, निर्देशन र नायकसमेत हुन् । २०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका वेदबहादुरले गोठालो चलचित्रमा अभिनय पनि गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य उनैले गरेका हुन् । युक्त गुरुङले गाएको यो गीत धेरै चर्चित छ । आफ्नै निर्देशनमा उनले ‘हाम्रो गाउँघर’ नामक गुरुङ चलचित निर्माण गरेका छन् । गुरुङ फिल्म एसोसिएसनको पूर्वअध्यक्षसमेत रहेका वेदबहादुर पर्यटकीय गाउँ ताङतिङका हुन् ।

शूटिङको क्रममा बिश्राम लिंदै नायक बेद ब गुरुङ “श्याम”

२०४५ सालमा विद्यार्थी आन्दोलनबाट कम्युनिष्ट राजनीतिमा आकर्षित भएका वेदबहादुरका बुबा भने कांग्रेस थिए । उनीका बुबा नेपाली कांग्रेसबाट बुबा टेकशाही गुरुङ नेपाली कांग्रेसबाट तत्कालीन नामर्जुङ गाविस अध्यक्षसमेत भएका थिए । अभिभावक नै कांग्रेसको जनप्रतिनिधि भए पनि वेदबहादुर भने कम्युनिस्ट राजनीतिमा आकर्षित भए । उनका काका दीपक गुरुङ कांग्रेसबाटै सांसदसमेत भएका थिए ।

२०४५ सालमा अनेरास्ववियु एकताको पाँचौ प्रारम्भिक कमिटी सदस्य लिएका वेदबहादुर अनेरास्ववियु कास्की जिल्ला कमिटी सदस्य हुँदै राजनीतिक उकालो चढ्दै गए । २०५८ सालमा एमालेको कास्की जिल्ला इलाका–५ को सचिव पनि भए । २०६६ सालमा नेकपा एमाले सचिवालय सदस्य बनेका वेदबहादुर २०६७ मा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचित भए । २०६८ मा अञ्चल कमिटी, २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुँदै अहिले सचिवालय सदस्य छन् ।

२०७४ सालमा मादी गाउँपालिकाको अध्यक्ष भएर काम गरेका वेदबहादुरले कृषि तथा जलस्रोत मन्त्रालय (कृषि तथा पशुपंक्षी, ऊर्जा, सिँचाइ र खानेपानी) पाएका छन् । गाउँपालिकाको अध्यक्ष भएर काम गरेको अनुभव पनि भएकाले उनले मन्त्रीका रुपमा पनि राम्रो काम गर्न सक्ने एमाले नेताहरु बताउँछन् ।

गण्डकी प्रदेशका नवनियुक्त कृषि, उर्जा तथा जलस्रोत मन्त्री गुरुङले पदभार ग्रहण

गण्डकी प्रदेशका कृषि , उर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्रदेश प्रमुखको निवासमा सपथ लिए लगतै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले २ वटा निर्णय गरेका छन् । उत्कृष्ट कृषि पुरस्कारबारे कार्यविधि स्वीकृत र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेका हुन् ।

पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीको नियुक्त भएका खगराज अधिकारीको मन्त्रिमण्डलले मंगलबार मात्र पूर्णता पाएको छ ।